दफा २१
अन्य विश्वविद्यालयको आंगिक क्याम्पस संचालन गर्ने सम्बन्धी विशेष व्यवस्था

(१) अन्य विश्वविद्यालयको कुनै आंगिक क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा संचालन गर्न आवश्यक भएमा नेपाल सरकारले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरू र सो क्याम्पसको क्याम्पस प्रमुख रहेको एक समिति गठन गर्नेछ र सो समितिले त्यस्तो क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा संचालन गर्ने निर्णय गरेमा विश्वविद्यालयले सो क्याम्पसलाई आंगिक क्याम्पसको रूपमा संचालन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै क्याम्पस विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा संचालन हुने भएमा सो क्याम्पसको हकभोगमा रहेको चल अचल सम्पत्ति तथा दायित्व समेत विश्वविद्यालय अन्तर्गतको सोही क्याम्पसमा सर्नेछ ।

(३) उपदफा (१) बमोजिम कुनै क्याम्पस विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा संचालन हुने भएमा सो क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले चाहेमा निजहरू समेत विश्वविद्यालयको आंगिक क्याम्पसको शिक्षक तथा कर्मचारीको रूपमा बहाल रहन सक्नेछन् ।

(४) उपदफा (३) बमोजिम कुनै शिक्षक तथा कर्मचारी विश्वविद्यालयको आंगिक क्याम्पसमा बहाल रहेमा निजहरूलाई मर्का पर्ने गरी साविकको तलव, सुविधा तथा सेवा शर्तमा कुनै परिवर्तन गरिने छैन ।